रौतहट १ बैशाष
रौतहटको चन्द्रपुर नगरपालिकामा किशोरीहरूबीच प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिता सुरु हुने भएको छ । “मेरो गोल, लैङ्गिक हिंसा विरुद्धको बोल” भन्ने सशक्त नारासहित पालिका स्तरीय ‘चन्द्रपुर मेयर कप किशोरी फुटबल प्रतियोगिता’ यही २०८३ साल बैशाख २ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने भएको हो । रौतहट जिल्ला फुटबल संघका अनुसार प्रतियोगितामा चन्द्रपुर नगरपालिकाका १० वटै वडाबाट टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल चन्द्रपुर–१ र चन्द्रपुर–३ बीच हुने तय गरिएको छ । चन्द्रपुर–६ स्थित हातेमालो सामुदायिक वन, शेर बहादुर दर्लामी स्मृति खेल मैदानमा हुने खेलहरू दैनिक दुई चरणमा सञ्चालन गरिनेछन् । पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

खेल तालिका अनुसार उद्घाटन दिन बैशाख २ गते चन्द्रपुर–१ र चन्द्रपुर–२ बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल चन्द्रपुर–५ र चन्द्रपुर–२ बीच हुनेछ। त्यसैगरी बैशाख ३ गते चन्द्रपुर–८ र चन्द्रपुर–४ तथा चन्द्रपुर–७ र चन्द्रपुर–१० बीच प्रतिस्पर्धा हुने कार्यक्रम छ । प्रतियोगिताका सेमीफाइनल खेलहरू बैशाख ४ गते आयोजना गरिने जनाइएको छ । चन्द्रपुर नगरपालिकाको संरक्षणमा सञ्चालन हुन लागेको प्रतियोगिता रौतहट जिल्ला फुटबल संघको समन्वयमा आरडिसी नेपाल, लौकाहा द्वारा आयोजना गरिएको हो भने इस्लामिक रिलान्स नेपालले कार्यक्रम व्यवस्थापन गर्ने छ । प्रतियोगिताले किशोरीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउने विश्वास गरिएको छ ।

