राैतहट २६ चैत्र
रौतहट । चन्द्रनिगाहपुरको मुख्य चोकबाट गैडाटार जाने सडक सामान्य वर्षामै हिलाम्मे बन्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्। एक झर पानी पर्दा नै सडकमा हिलो जम्ने समस्या देखिनु आगामी वर्षायाममा ठूलो जोखिमको संकेत भएको उनीहरूको भनाइ छ । उक्त चोक चन्द्रनिगाहपुरको प्रमुख केन्द्रका रूपमा परिचित छ, जहाँ पूर्व–पश्चिम राजमार्गसँगै गौर रोडको मुख्य मार्ग जोडिएको छ । अत्यन्त व्यस्त रहने यस क्षेत्रमा सडकको यस्तो दयनीय अवस्थाले दैनिक आवतजावतमा कठिनाइ सिर्जना गरिरहेको छ । स्थानीयका अनुसार वर्षा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि योजना बनाउनुपर्ने भए पनि सम्बन्धित निकायले चासो नदेखाएको गुनासो छ । हरेक वर्ष वर्षायाममा पानी निकासको उचित व्यवस्था नहुँदा चन्द्रनिगाहपुरका विभिन्न स्थानहरूमा सडक तथा घरहरू डुबानमा पर्ने गरेका छन् ।
“समस्या प्रत्येक वर्ष दोहोरिँदै आएको छ, तर समाधानतर्फ कुनै पहल भएको देखिँदैन,” एक स्थानीयले भने, “यसले भविष्यमा ठूलो क्षति निम्त्याउन सक्छ ।” स्थानीय तहलाई समस्या बारे पूर्ण जानकारी हुँदाहुँदै पनि बेवास्ता गर्नु निन्दनीय रहेको स्थानीयहरूको धारणा छ । उनीहरूले तत्काल पानी निकासको व्यवस्थापन तथा सडक मर्मतमा ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
वर्षायाम नजिकिँदै गर्दा सम्भावित क्षति न्यूनीकरणका लागि समयमै कदम चाल्न नसके चन्द्रनिगाहपुर क्षेत्र थप संकटमा पर्ने देखिएको छ ।

