राैतहट २५ चैत्र
राैतहटकाे चन्द्रनिगाहपुर मुख्य चोकमा अवस्थित तीनकुने पार्क अहिले सौन्दर्यभन्दा बढी अव्यवस्था र बेवास्ताको उदाहरण बनेको छ । राज्यको लगानीबाट निर्माण गरिएको उक्त पार्कको अवस्था हेर्दा “बालुवामा पानी खन्याएझैँ” भएको स्थानीयको गुनासो छ । पार्कभित्र निर्माण गरिएका पानीका फोहोरा, प्रतिक्षालय, राष्ट्रिय झण्डा, बोटबिरुवा, बत्ती तथा आराम गर्ने कुर्सीहरू व्यवस्थापन अभावका कारण प्रयोगविहीन जस्तै बनेका छन् । सरसफाइ र संरक्षणको कमीले गर्दा यी संरचनाहरूले पार्कको आकर्षण बढाउनुको साटो कुरुपता थपेको स्थानीय बताउँछन् ।
स्थानीय सरकारकै पहलमा पार्क व्यवस्थापन समिति गठन गरिए पनि त्यसले प्रभावकारी काम गर्न नसकेको आरोप छ। नियमित मर्मत, सरसफाइ र संरक्षण नहुँदा चोकको समग्र सौन्दर्य नै ओझेलमा परेको छ । “केही समय चर्चा कमाउनका लागि देखावटी रूपमा संरचना निर्माण गर्ने तर त्यसपछि बेवास्ता गर्ने प्रवृत्तिले राज्यको करोडौँ रकम दुरुपयोग भइरहेको छ,” एक स्थानीयले आक्रोश व्यक्त गरे ।स्थानीयवासीहरूले तत्काल सरोकारवाला निकायले ध्यान दिँदै पार्कको संरक्षण, सरसफाइ र व्यवस्थापनमा सक्रियता देखाउनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार कुनै पनि संरचना निर्माणपछि त्यसको दीगो संरक्षण र सम्बर्द्धन गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो । चन्द्रनिगाहपुरको मुहार झल्काउने मुख्य चोकमै यस्तो अवस्था देखिनु समग्र नगरको छविमाथि प्रश्न उठाउने विषय बनेको छ । अब स्थानीय सरकारले समयमै चासो नदिए, यो समस्या अझ जटिल बन्दै जाने देखिन्छ।

