रौतहट २४ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी कुल बहादुर सुनार गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा नियमित उपचार गराइरहेका छन् । विगतमा दैनिक ज्यालादारी गरेर परिवारको गुजारा चलाउँदै आएका सुनार अहिले आफैं बिरामी परेपछि परिवार आर्थिक संकटमा परेको छ । चिकित्सकका अनुसार उनको जीवन बचाउन तत्काल मिर्गौला प्रत्यारोपण आवश्यक रहेको छ । तर, मिर्गौला दाताको अभावले प्रक्रिया अगाडि बढ्न सकेको छैन । यसैबीच, प्रत्यारोपण प्रक्रिया पूरा नहुँदासम्म उनलाई हप्तामा कम्तीमा एक पटक डायलोसिस गर्नुपर्ने अवस्था रहेको छ । परिवारका अनुसार एक पटक डायलोसिस गर्न करिब ५ हजार रुपैयाँ खर्च लाग्ने गर्दछ, जुन खर्च धान्न उनीहरूको आर्थिक अवस्था कमजोर रहेको छ । पीडित परिवारले सुनारको जीवनरक्षाका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । उनका छोरी सोबी सुनारको बैंक खातामा क्यूआर कोडमार्फत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

स्थानीयवासी तथा शुभेच्छुकहरूलाई मानवताको नाताले सक्दो सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । “सेवा नै धर्म हो, तपाईंको सानो सहयोगले कसैको जीवन बच्न सक्छ,” भन्दै परिवारले सहयोगका लागि हार्दिक अपिल गरेको छ ।

