रौतहट २३ चैत्र
मौलापुर नगरपालिका वडा नं. ५ स्थित मछली बजार नजिकै आइतबार भएको आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
स्थानीयवासीका अनुसार जगदीश साहको फुसको घरभित्र रहेको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा ठूलो आवाजसहित आगलागी सुरु भएको थियो। विस्फोटपछि केहीबेर मौलापुर बजार क्षेत्र नै त्रसित बनेको थियो।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नबाली (धान, गहुँ, चामल) लगायत करिब दुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै ईलाका प्रहरी कार्यालय मौलापुरको टोली र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। यस घटनामा मानवीय क्षति भने नभएको पुष्टि भएको छ । घर पूर्णरूपमा जलेपछि पीडित जगदीश साह दम्पती घरविहीन भएका छन्। हाल उनीहरूलाई मौलापुर एफएममा अस्थायी बसोबासको व्यवस्था गरिएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ । पीडित परिवारका लागि तत्काल राहत तथा सहयोग आवश्यक रहेको स्थानीयले बताएका छन् ।

