रौतहट २१ चैत्र
देवाही गोनाही नगरपालिका मा आयोजित दोस्रो नगरस्तरीय नक–आउट फुटबल प्रतियोगिता शनिबार भव्य रूपमा सम्पन्न भएको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर–१ कुरुनिया टिमले उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो । फाइनल खेल सुरुदेखि नै रोमाञ्चक बनेको थियो । दुवै टिमले जितका लागि आक्रामक खेल प्रदर्शन गरे पनि निर्णायक क्षणमा कुरुनिया टिमले बाजी मार्दै दर्शकलाई उत्साहित बनायो ।
प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख प्रेमलाल साह ले विजेता तथा उप–विजेता दुवै टिमलाई कप हस्तान्तरण गर्दै सम्मान गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । नगरपालिकाले स्थानीय स्तरमा खेलकुदको विकास तथा युवाहरूलाई सकारात्मक दिशामा प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिताले नगरभित्र खेलकुदप्रतिको उत्साह अझ बढाएको आयोजकको विश्वास छ ।

