रौतहट २० चैत्र
रौतहटको चन्द्रनिगाहपुरस्थित नापी कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ। कार्यालयले बिचौलियाको रूपमा चिनिने अनाधिकृत व्यक्तिहरूलाई पूर्ण रूपमा निषेध गर्दै अबदेखि सेवाग्राहीलाई सम्बन्धित कागजात र निवेदन देखाएर मात्र कार्यालय प्रवेश गर्न आग्रह गरेको हो । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत नापी विभागको योजना तथा प्रशासन शाखाबाट जारी पत्र (पत्र संख्या ३/१/२०८२/८३, चलानी नं. ३८७, मिति २०८२/१२/१८) अनुसार यस्तो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सेवाग्राहीलाई सहज, छिटो र गुनासोरहित सेवा प्रदान गर्ने उद्देश्यले यो निर्णय लिइएको हो । विशेषगरी सरकारी अभिलेख र कागजातमा अनधिकृत पहुँच रोक्न तथा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न यो कदम प्रभावकारी हुने विश्वास गरिएको छ । नयाँ व्यवस्थासँगै अब सेवाग्राहीले आफैं आवश्यक कागजातसहित उपस्थित भएर मात्र सेवा लिनुपर्नेछ । यसले सेवा प्रक्रियालाई पारदर्शी बनाउने तथा अनियमितता नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

