सर्लाही २० चैत्र
सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयमा लेखापढी व्यवसायीको आन्दोलनका कारण सेवा प्रवाह प्रभावित बनेको छ । सरकारको नयाँ परिपत्रअनुसार लेखापढी व्यवसायीलाई कार्यालयभित्र प्रवेशमा रोक लगाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । कार्यालय प्रशासनले बिहीबारदेखि गेटभित्र प्रवेश निषेध गरेसँगै लेखापढी व्यवसायीहरूले ‘पेन डाउन’ गर्दै दिनभर सटर बन्द गरेर कामकाज ठप्प पारे । उनीहरूले कार्यालय बाहिर बसेर सीमित रूपमा कागजात तयारी र अनलाइन सेवा दिँदै आए पनि औपचारिक काम भने रोकिएको छ । सरकारले आफूहरूलाई ‘बिचौलिया’को रूपमा चित्रण गर्दै कार्यालय प्रवेशमै प्रतिबन्ध लगाउनु अपमानजनक भएको लेखापढी व्यवसायीहरूको भनाइ छ। लेखापढी व्यवसायी संघ हरिवनका पूर्व अध्यक्ष अकलबहादुर भण्डारीले दर्ता भएर राज्यलाई राजस्व तिर्दै सेवा दिँदा पनि यस्तो व्यवहार हुनु दुःखद भएको बताए । उनले नागरिकलाई कानुनी सहजीकरण र राजस्व वृद्धिमा आफूहरूको योगदानको अवमूल्यन गरिएको गुनासो गरे ।
आन्दोलनका कारण जग्गा राजिनामा, कित्ताकाट लगायतका अत्यावश्यक सेवाका लागि पुगेका सेवाग्राही काम नगरी फर्कन बाध्य भएका छन् । मालपोत कार्यालय हरिवनका प्रमुख उदयप्रसाद देवकोटाले विभागीय परिपत्र कार्यान्वयन गर्दै प्रवेशमा रोक लगाइएको स्पष्ट पारे। उनका अनुसार हाल अधिकांश लेखापढी तथा अनलाइन इन्ट्रीको काम बाहिरका व्यवसायीमार्फत हुने भएकाले आन्दोलनले कार्यालयको दैनिक कामकाजमा प्रत्यक्ष असर परेको छ । केही अत्यावश्यक काम भने कार्यालयभित्रकै कर्मचारीबाट सम्पन्न गरिए पनि जनशक्ति अभावका कारण सबै सेवाग्राहीको काम सम्भव नभएको उनले बताए। “सरकारको निर्णयअनुसार अगाडि बढिरहेका छौं, तर यसले सेवा प्रवाहमा समस्या आएको छ,” देवकोटाले भने, “आगामी दिनमा सरकारले थप व्यवस्था गर्ने अपेक्षा गरेका छौं ।” लेखापढी व्यवसायी र सरकारी निकायबीचको यो विवाद समाधान नभएसम्म सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ ।

