गैडाटार सिचाइ आयोजना अलपत्र : एक वर्षदेखि भत्किएको ड्याम नबन्दा किसान मारमा

रौतहट १८ चैत्र
कृषिको लागि अत्यन्त उर्वर भूमि मानिएको गैडाटार क्षेत्र अहिले सिचाइ अभावका कारण संकटमा परेको छ । करौडौंको लगानीमा निर्माण गरिएको सिचाइ आयोजना अन्तर्गत चादी खोलाबाट गाउँ–गाउँसम्म आधुनिक पक्की कुलो विस्तार भइसके पनि, आयोजना सञ्चालनको मुख्य आधार रहेको ड्याम भत्किएको एक वर्ष बित्दा समेत पुनःनिर्माण हुन सकेको छैन ।
गत वर्ष चादी खोलामा आएको बाढीले ड्याम बगाएपछि यहाँका किसानहरू समस्यामा परेका छन् । समयमा सिचाइ नपाउँदा धान, तरकारी लगायतका बालीनालीले अपेक्षित उत्पादन दिन सकेका छैनन् । पछिल्लो समय गैडाटारमा केरा खेतीप्रति आकर्षण बढ्दो भए पनि, वर्षमा कम्तीमा दुई पटक आवश्यक सिचाइ नपाउँदा किसानहरू चिन्तित बनेका छन् । हाल किसानहरूले अस्थायी रूपमा ड्यामभन्दा माथिबाट ढुङ्गा, सेउला, बालुवा, गिट्टी र माटो प्रयोग गरी परम्परागत बाँध बनाएर सिचाइ गरिरहेका छन् । तर यस्तो अस्थायी संरचना सानो पानीको बहावले समेत बगाउने भएकाले बारम्बार मर्मत गर्नुपर्ने बाध्यता रहेको छ । यसले समय, श्रम र आर्थिक रूपमा किसानहरूलाई थप मार परेको छ ।
स्थानीय किसानहरूको गुनासो छ—चुनावको समयमा विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरू स्वयं खोलामा पुगेर ड्याम निर्माण गर्ने आश्वासन दिएका थिए । तर, चुनाव सकिएपछि उनीहरू सम्पर्कविहीन जस्तै भएका छन् । “चुनावका बेला ठूलाठूला वाचा गर्ने नेताहरू अहिले कहाँ हराए ?” भन्दै स्थानीयले व्यङ्ग्य गर्न थालेका छन् ।
गैडाटारका किसानहरूले स्थानीय, प्रदेश र संघीय—तीनै तहका सरकारसँग तत्काल ध्यान दिन आग्रह गरेका छन् । सिचाइ व्यवस्थापनमा ढिलाइ हुँदा कृषिमा आधारित यस क्षेत्रको आर्थिक अवस्था नै कमजोर हुने खतरा बढ्दै गएको छ ।
गैडाटार सिचाइ आयोजना केवल पूर्वाधार मात्र होइन, यहाँका किसानहरूको जीवनरेखा हो । समयमै पुनःनिर्माण नगरे कृषिमा ठूलो क्षति हुने निश्चित छ । अब सरकार र सम्बन्धित निकायहरूले आश्वासन होइन, ठोस कार्यान्वयन मार्फत किसानहरूको पीडामा मलम लगाउनु अत्यावश्यक देखिन्छ ।

ताजा समाचार

Related Articles