आधुनिकतासँगै ओझेलिँदै परम्परा : गैडाटारका पानी घट्ट संकटमा

रौतहट १८ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३, गैडाटारको पहाडी फेदीमा बग्ने सानो खोला र त्यससँगै जोडिएको जीवनशैली आज परिवर्तनको कठोर मोडमा उभिएको छ । कहिल्यै गाउँको जीवनरेखा मानिने परम्परागत पानी घट्टहरू अहिले समयको वेगसँगै बिस्तारै थन्किँदै गएका छन् । पुर्खौंदेखि सञ्चालनमा रहेका दुई पानी घट्ट—“तितुङको घट्ट” र “गोलेको घट्ट”—एक समय गाउँलेहरूको दैनिक जीवनको अभिन्न अंग थिए । बिहान सबेरै अन्न बोकेर आउनेहरूको भीड, घट्टको घुम्ने ढुंगासँगै गुञ्जिने पानीको मधुर स्वर, अनि त्यहीँ बसेर साटासाट गरिने गाउँका कथा—यी सबै दृश्य आज सम्झनामा मात्र सीमित हुन थालेका छन् । आधुनिक प्रविधिको तीव्र विकाससँगै विद्युतिय मिलहरू गाउँ–गाउँमा पुगेपछि परम्परागत घट्टहरू सुनसान बन्न थालेका छन् । अहिले अधिकांश मानिसहरू सहज र छिटो सेवा दिने मिलतर्फ आकर्षित हुँदा पानी घट्टमा सेवाग्राहीको संख्या न्यून हुँदै गएको छ । परिणामस्वरूप, यी ऐतिहासिक संरचनाहरू बन्द हुने अवस्थामा पुगेका छन् । घट्ट सञ्चालकहरूका अनुसार, सेवाग्राहीको अभाव मात्र होइन, पानीको अस्थिर स्रोत पनि ठूलो समस्या बनेको छ । विशेषगरी वर्षायाममा बाढीले पानीको मुहान बगाएर लैजाँदा घट्ट सञ्चालन गर्न झनै कठिन हुने गरेको छ । यसरी प्राकृतिक र प्रविधिगत दुवै चुनौतीबीच परम्परा संघर्ष गरिरहेको छ । यद्यपि, परम्परागत पानी घट्टको महत्व अझै कम भएको छैन । घट्टमा पिसिएको पिठो स्वादिलो मात्र होइन, स्वास्थ्यका हिसाबले पनि बढी पौष्टिक र अर्गानिक हुने चिकित्सकहरू बताउँछन् । यही कारणले यसलाई केवल एक उपकरण होइन, हाम्रो मौलिकता र जीवनशैलीको पहिचानका रूपमा लिनुपर्ने आवाज उठ्न थालेको छ । स्थानीय बुद्धिजीवीहरू र सरोकारवालाहरूले यसको संरक्षण र सम्वद्र्धनमा जोड दिएका छन् । उनीहरूका अनुसार, परम्परागत घट्ट जोगाउन स्थानीयवासीले पुनः यसको प्रयोगमा रुचि देखाउनुपर्ने, साथै राज्यले पनि यसको संरक्षणका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।
गैडाटारका पानी घट्टहरू केवल अन्न पिस्ने साधन होइनन्, ती गाउँको इतिहास, संस्कृति र आत्मीयताको जीवित प्रतीक हुन्। यदि समयमै संरक्षण हुन सकेन भने, यी मौन धरोहरहरू केवल कथामा सीमित हुनेछन्—जहाँ पानी बग्थ्यो, तर परम्परा रोकिँदै गयो ।

ताजा समाचार

Related Articles