रौतहट १९ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारमा एक युवाको जीवन १५ वर्षदेखि बाख्राको खोरमै सीमित भएको मार्मिक घटना सार्वजनिक भएको छ । स्थानीय बाबुलाल तितुङ र अस्मिता राईका छोरा बिशाल तितुङ, जो हाल १८ वर्षका छन्, बाल्यकालदेखि नै गम्भीर मानसिक तथा मस्तिष्कसम्बन्धी समस्याका कारण असामान्य अवस्थामा जीवन बिताउन बाध्य भएका छन् ।
वि.सं. २०६६ सालमा सामान्य अवस्थामै जन्मिएका बिशाल २०६८ सालमा अचानक बिरामी परेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको परिवारले जनाएको छ । उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा लगिएको भए पनि चिकित्सकहरूले मस्तिष्कको एक भागले काम नगर्ने (मस्तिष्क अपाङ्गता) समस्या रहेको र उपचार सम्भव नभएको बताएका थिए । त्यसपछि परिवारले बाध्यतावश उनलाई नियन्त्रणमा राख्न खुट्टामा साङ्लो बाँधेर बाख्राको खोरमै राख्दै आएको छ । बुबा बाबुलाल तितुङका अनुसार “छोरा नबाँधेमा हिँडेर हराउने र फर्केर नआउने भएकाले बाध्य भएर यस्तो निर्णय लिनुपरेको हो ।”
बोल्न नसक्ने तथा व्यवहार नियन्त्रणमा नरहने अवस्थाका कारण बिशालले भेटेका वस्तुहरू च्यात्ने, फ्याँक्ने तथा खाने गर्ने गरेका कारण उनलाई छुट्टै राखिएको परिवारको भनाइ छ । उनको दैनिक आवश्यकताका लागि सोही स्थानमा शौचालयसमेत निर्माण गरिएको छ । बिशालसँग अपाङ्गता परिचयपत्र (ख वर्ग) रहेको छ र उनले मासिक २ हजार रुपैयाँ अपाङ्ग भत्ता पाउँदै आएका छन् । तर उक्त सहयोगले पर्याप्त हेरचाह तथा उपचार सम्भव नभएको परिवारले जनाएको छ ।
बुबा बाबुलालले छोरालाई कुनै पुनर्स्थापना केन्द्रमा राख्ने इच्छा व्यक्त गरे पनि वडा कार्यालयबाट सिफारिस नपाएको गुनासो गरेका छन् । वडा कार्यालयले भने बुवा–आमा जीवित रहेको अवस्थामा सिफारिस दिन नमिल्ने बताएको छ । यो घटनाले ग्रामीण क्षेत्रमा मानसिक रोगी तथा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था कति जटिल र उपेक्षित छ भन्ने स्पष्ट पार्दछ । साथै, सरकारी संयन्त्र र सामाजिक संरचनाको सीमितताले यस्ता परिवारहरूलाई कति कठिन परिस्थितिमा बाँच्न बाध्य बनाएको छ भन्ने प्रश्न पनि उठाएको छ ।

स्थानीय तथा सरोकारवाला निकायहरूले यस्ता घटनामा गम्भीर ध्यान दिनुपर्ने देखिन्छ । बिशालजस्ता व्यक्तिहरूको उचित उपचार, संरक्षण र पुनर्स्थापनाका लागि राज्य तथा समाज दुवैको सक्रिय पहल आवश्यक रहेको देखिएको छ ।

