रुपेन्द्र पटेल
रौतहट, १७ चैत । चन्द्रपुर नगरपालिका वडा नं-६ को कार्यालयले सडक तथा टोल क्षेत्रमा अव्यवस्थित रूपमा झुन्ड्याइएका इन्टरनेट तार हटाउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
सो वडाका वडाध्यक्ष सहदेव केसीको हस्ताक्षरमा जारी सूचनामा सुबीसु, वर्डलिङ्क र क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायकहरूले जथाभावी तानेका वाइफाई तारहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ । यस्ता तारका कारण हावाहुरीको समयमा आगलागी हुने, जनधनको क्षति पुग्ने तथा सडक दुर्घटनासमेत निम्तिने जोखिम बढेको वडा अध्यक्ष केसीको भनाइ रहेको छ ।
उहाँले विभिन्न स्थानमा बाटो छेउ र पोलहरूबाट झुन्डिएको तारले सर्वसाधारणलाई सास्ती दिँदै आएको भन्दै वडावासीबाट गुनासो आएपछि वडा कार्यालयको ध्यानाकर्षण भएको बताउनुभयो ।
सूचनाअनुसार २०८२ साल चैत मसान्तभित्र सबै अव्यवस्थित तथा जोखिमपूर्ण तारहरू व्यवस्थित गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । निर्धारित समयभित्र व्यवस्थापन नगरे प्रचलित कानुन अनुसार आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
वडा कार्यालयले यस कार्यमा सबै सरोकारवाला निकाय र सेवाप्रदायकहरूको सहयोगको अपेक्षा गरेको जनाएको छ।


