गैडाटारको शहीद पार्कः करोडौं लगानी ओझेलमा, पर्यटनको सपना अलपत्र

रौतहट १७ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा अवस्थित “शहीद पार्क” यतिबेला विकासको प्रतीक्षामा निराशापूर्ण अवस्थामा उभिएको छ । राज्यले करोडौं रुपैयाँ खर्चेर निर्माण गरेका संरचनाहरू संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् , जसले सार्वजनिक सम्पत्तिको दुरुपयोगप्रति गम्भीर प्रश्न उठाएको छ । प्राकृतिक सौन्दर्यले भरिएको उक्त क्षेत्रलाई आधुनिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पार्कमा आकर्षक बेन्च, पिकनिक स्थल, बाल उद्यान, स्विमिङ पोखरी तथा परम्परागत पानी घट्टजस्ता संरचनाहरू निर्माण गरिएका थिए । तर, आवश्यक व्यवस्थापन र प्रवद्र्धन नहुँदा ती सबै पूर्वाधारहरू उपयोगविहीन बन्दै झाडीले ढाक्न थालेका छन् । हाल पार्क परिसरमा एउटा होटल सञ्चालनमा रहे पनि अन्य अधिकांश संरचनाहरू अलपत्र र बेकामे अवस्थामा पुगेका छन्। निर्माणाधीन रहेका संरचनाहरू समेत अधुरै छाडिएको पाइएको छ । हिँडडुलका लागि बनाइएका बाटोहरू, पिकनिक स्टल, बाल उद्यान र शहीदहरूको आकृति निर्माण गर्न थालिएका स्तम्भहरू समेत अपूरै अवस्थामा थन्किएका छन् । राज्यको ठूलो लगानी यसरी बेवारिसे अवस्थामा रहँदा पनि स्थानीय सरकार तथा सम्बन्धित निकाय मौन बस्नुले स्थानीयवासीमा असन्तोष चुलिएको छ । उनीहरूले शहीदहरूको सम्मानमा स्तम्भहरूमा आकृति निर्माण गरिनुपर्ने, पार्कको संरक्षण र सम्वद्र्धन गरी यसलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने माग गरेका छन् । स्थानीयले राज्यको लगानी दुरुपयोग गर्न नपाइने स्पष्ट चेतावनी दिँदै, कुनै निकाय वा व्यक्तिले लापरवाही वा अनियमिततामार्फत रकम दोहन गरेको पुष्टि भए कडा कानुनी कारबाहीको माग समेत गरेका छन् ।

गैडाटारको “शहीद पार्क” आज केवल एउटा अधूरो परियोजना मात्र नभई, विकासप्रति राज्यको प्रतिबद्धता र जवाफदेहिताको परीक्षा बनेको छ । समयमै यसको संरक्षण र व्यवस्थापन गर्न सकिएमा यो स्थल प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना अझै जीवित छ ।

ताजा समाचार

Related Articles