रौतहट १५ चैत्र
रौतहटमा २५७० औ बुद्ध जयन्ति भब्यताका साथ मनाउने भएको छ । बुद्ध जयन्ती समारोह समिति रौतहटको आइतबार बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । समितिका सह–अध्यक्ष तथा मगर संघ रौतहटका अध्यक्ष शेर बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकमा श्रद्धेय गुरु भन्ते मेधंकर स्थवीरको विशेष उपस्थिति रहेको थियो । बैठकले आगामी २५७० औं बुद्ध जयन्तीलाई भव्य रूपमा मनाउने निर्णय गरेको छ । सोही अनुसार २०८३ साल बैशाख १८ गते विविध जातीय भेषभूषासहित भव्य र्याली निकाल्दै चन्द्रपुर नगर परिक्रमा गरिने छ । त्यसैगरी, बुद्ध जयन्तीको अवसरमा स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । साथै, बैशाख १७ गते गोल्माराजा बुद्ध विहारमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने कार्यक्रम तय गरिएको छ । यसैबीच, कार्यक्रमको तयारी तथा समारोह समितिका पदाधिकारी चयन सम्बन्धी थप निर्णय गर्न बैशाख ४ गते शुक्रबार चन्द्रपुर नगरपालिका वडा नम्बर १ गैरीगाउँमा अर्को तयारी बैठक बस्ने जानकारी दिइएको छ । उक्त तयारी बैठकमा चन्द्रपुर नगरपालिकाबाट समेत प्रतिनिधि आमन्त्रण गर्ने निर्णय गरिएको छ । समितिले समारोहसँग सम्बन्धित सम्पूर्ण पदाधिकारी, सदस्य, महासंघका प्रतिनिधि, गुम्बा तथा विहारका अध्यक्ष, लामा गुरु तथा समाजसेवीहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आह्वान गरेको छ ।

