गैडाटार १४ चैत्र
रौतहटको चन्द्रपुर–३ गैडाटारस्थित जीवन ज्योति आवासीय माध्यमिक विद्यालयले आफ्नो २१ औँ वार्षिकोत्सव तथा ९औँ फेयरवेल कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा, अनुशासन र संस्कारलाई प्राथमिकतामा राख्दै आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक र स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष बोधनाथ देवकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुँदा चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र कुमार मण्डल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। उनीहरूले विद्यालयको प्रगति र शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमका क्रममा स्थानीय युवा उपेन्द्र गोलेले वर्तमान शिक्षा प्रणालीलाई केवल सैद्धान्तिक नभई व्यवहारिक जीवनसँग जोड्नुपर्नेमा जोड दिए। उनले शिक्षा व्यक्तिलाई जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी बनाउने माध्यम भएकाले यसलाई प्रभावकारी बनाउनु अत्यावश्यक रहेको बताए । त्यस्तै, विद्यालयका प्रधानाध्यापक अमृत पुलामी मगरले जीवन ज्योति आवासीय मावि गैडाटार क्षेत्रमा नमुना शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान केन्द्रित गरिरहेको बताए ।

विशिष्ट अतिथि दीपेन्द्र कुमार मण्डलले चन्द्रपुर नगरपालिका भित्र शिक्षा क्षेत्रमा देखिने अव्यवस्था र अराजक गतिविधि नियन्त्रण गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले शैक्षिक क्षेत्रलाई अनुशासित र व्यवस्थित बनाउँदै गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगर्ने धारणा व्यक्त गरे । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा फेयरवेलका भावुक क्षणहरू प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो ।

