रौतहट १४ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिकामा सडकमै निर्माण सामग्री थुपार्ने र पेटी अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै जाँदा दुर्घटनाको जोखिम चुलिएको छ । विशेष गरी चन्द्रनिगाहपुर क्षेत्रमा सडक किनार तथा पेटीमै ढुंगा, बालुवा, गिट्टीजस्ता निर्माण सामग्री राखिँदा सवारी आवागमनमा अवरोध हुनुका साथै पैदलयात्रुहरू समेत जोखिममा परेका छन् । चन्द्रपुर नगरपालिकाको मुख्या सडकमा नै नालाको अबस्था पनि अलपत्र अबस्थामा रहेको छ । चन्द्रनिगाहपुर चोकदेखि गैडाटार रोडमा अत्याधिक रुपमा सडकमा नै निर्माण सामग्री राखेका कारण दुर्घटनाका जोखिम बढेको छ । सो स्थानमा गैडाटातर्फ आउने अटो रिक्साको पार्किङ समेत रहेकाले झन जोखिम बढेको छ । नगरपालिकाले सडक सरसफाइ तथा व्यवस्थापनका लागि प्रभावकारी नीति निर्माण गर्न नसक्दा समस्या झन् जटिल बन्दै गएको स्थानीयहरूको गुनासो छ । सडक पेटीमा अनियन्त्रित रूपमा बसेका व्यापारीहरू र जथाभावी फालिएका सामग्रीका कारण बजार क्षेत्र दुर्गन्धित समेत बन्दै गएको छ । यस अवस्थाले चन्द्रनिगाहपुरको सुन्दरता मात्र होइन, समग्र नगरको छविमाथि नै नकारात्मक प्रभाव पारेको देखिन्छ । स्थानीयवासीहरूका अनुसार सडक पेटी व्यापारीहरूको उचित व्यवस्थापन र निर्माण सामग्री सडकमा राख्ने कार्यलाई तत्काल रोक्न आवश्यक भइसकेको छ । सुरक्षित र व्यवस्थित नगर निर्माणका लागि सम्बन्धित निकायले समयमै ठोस कदम चाल्नुपर्ने माग अहिले जोडदार रूपमा उठ्न थालेको छ ।

