अदालतको फैसला कार्यान्वयन अभियान : रौतहटमा ९ जना फरार प्रतिवादी पक्राउ

रौतहट १३ चैत्र
रौतहटमा अदालतको फैसला कार्यान्वयन अभियानलाई तीव्रता दिँदै प्रहरीले लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटिएको टोलीले बिहीबार कैद तथा जरिवाना सजाय तोकिएका ७ जना र चालु मुद्दाका २ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिएपछि फरार रहेका व्यक्तिहरूलाई लक्षित गरी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरूमा किर्ते जालसाजी, चोरी, जुवा, नाताकायम र गाली बेइज्जती जस्ता मुद्दामा सजाय तोकिएका व्यक्ति रहेका छन् । उनीहरूमध्ये केहीलाई जरिवाना तथा केहीलाई कैद सजाय तोकिएको थियो । त्यसैगरी चालु मुद्दाअन्तर्गत ज्यान मार्ने उद्योग र मिटर ब्याजसम्बन्धी कसुरमा संलग्न दुई जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पेश गरिएको छ । प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।

ताजा समाचार

Related Articles