रौतहट १३ चैत्र
रौतहटको फतुवा विजयपुर नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सन्देश पुर्याउने उद्देश्यले नसर्ने रोगबारे जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर–८ स्थित माध्यमिक विद्यालय विजयपुरको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा रक्तचाप, मधुमेह, दम र क्यान्सरजस्ता दीर्घकालीन रोगबारे जानकारी दिइएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ताले पछिल्लो समय जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले असन्तुलित खानपान, व्यायामको कमी, धूम्रपान तथा मदिरा सेवनलाई मुख्य कारणका रूपमा औंल्याउँदै समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सह–संयोजक रमेश यादवले यस्ता कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार रोग लागेपछि उपचारभन्दा पहिले नै रोकथामका उपाय अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।

