तराईमा गुइठा : अभावको बीचबाट जन्मिएको वैकल्पिक इन्धनको अभ्यास

रौतहट १३ चैत्र
रौतहटको तराई भूभागमा अहिले एउटा पुरानो परम्परा नयाँ आवश्यकतासँग जोडिँदै पुनर्जीवित हुँदै गएको छ—गुइठाको दाउरा बनाउने चटारो । दाउराको अभाव बढ्दै जाँदा यहाँका स्थानीय बासिन्दाहरूले गुइठालाई नै भरपर्दो इन्धनको रूपमा पुनः अपनाउन थालेका छन् । गरुडा, मौलापुर, यमुनामाई, देवाही गोनाही, बृन्दावन, गौर, गुजरा, राजपुर र कटहरिया लगायत जिल्लाका १८ वटै स्थानीय तहमा यतिबेला गुइठा तयार गर्ने गतिविधि तीव्र बनेको छ । विशेषगरी दाउरा अभाव भएका क्षेत्रमा स्थानीयले गुइठाभित्र सानो बास वा अन्य काठ राखेर बल्ने क्षमतायुक्त ‘गुइठा दाउरा’ बनाउने अभ्यास बढाएका छन् । वनजंगल टाढा हुनु, पहिलाजस्तो सहज रूपमा दाउरा उपलब्ध नहुनु र बढ्दो इन्धन संकटले गर्दा यो अभ्यासले गति लिएको स्थानीयको भनाइ छ । घरघरमै उपलब्ध हुने गाई–भैंसीको गोबरबाट तयार गरिने गुइठा अहिले सस्तो र सहज विकल्पको रूपमा स्थापित हुँदै गएको छ । ऊर्जा क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार, गुइठा केवल परम्परागत इन्धन मात्र होइन, अहिलेको सन्दर्भमा व्यवहारिक वैकल्पिक स्रोत पनि हो । यदि यसलाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सकियो भने तराई क्षेत्रमा ग्यास र दाउरामा निर्भरता कम गर्न सकिने सम्भावना देखिन्छ । स्थानीय सरकार र नेपाल सरकार ले गुइठालाई दिगो इन्धनको रूपमा विकास गर्न स्पष्ट नीति तथा योजना ल्याउन सके, ग्रामीण भेगका लागि यो दीर्घकालीन समाधान बन्न सक्ने जानकारहरूको सुझाव छ । तर, यससँगै वातावरणीय प्रभाव, स्वास्थ्य जोखिम तथा आधुनिक प्रविधिसँगको समन्वय जस्ता पक्षमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । यदि राज्यले समयमै पहिचान गरेर दिशा दिन सकेमा अभावले सिर्जना गरेको यो अभ्यास अब अवसरमा रूपान्तरण हुन सक्ने आंकलन गर्न थालेका छन ।

ताजा समाचार

Related Articles