जमीअत उलमा-ए नेपालको ‘शैक्षिक जागरण अभियान’ देशव्यापी रूपमा सञ्चालन हुने

रुपेन्द्र पटेल
रौतहट, १२ चैत । नेपालका मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित जमीअत उलमा-ए नेपालले ‘शैक्षिक जागरण अभियान’ देशव्यापी रूपमा सञ्चालन गर्ने भएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा बुधबार साझ आयोजित पत्रकार सम्मेलनमा संस्थाले २०८२ साल चैत १५ गतेदेखि २०८३ साल वैशाख १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष मोहम्मद खालिद सिद्धकीले शिक्षाको अभावकै कारण मुस्लिम समुदाय मानव विकास सूचकांक, राजनीतिक पहुँच र आयआर्जनका क्षेत्रमा पछाडि परेको बताउनुभयो । उहाँले अभियानमार्फत शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्दै समुदायको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालको औसत साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेकोमा मुस्लिम समुदायको साक्षरता दर ६१ दशमलव ७ प्रतिशत मात्र रहेको छ । मुस्लिम महिलाको साक्षरता दर झन् न्यून भई करिब ५० प्रतिशतमा सीमित रहेको तथ्याङ्कमा उल्लेख छ ।
संस्थाका सचिव मौलाना इजराइलले अभियानले शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि, विद्यालय भर्ना दर वृद्धि, बीचैमा पढाइ छोड्ने दर न्यूनीकरण तथा शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विशेष गरी मुस्लिम महिलाको साक्षरता दर वृद्धि गर्न लक्षित कार्यक्रम आवश्यक रहेकाले अभियान थालिएको जानकारी दिनुभयो ।
त्यसैगरी, महासचिव मुफ्ती समीम अख्तर कासमीले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम, शैक्षिक अन्तरक्रिया, अभिभावक परामर्श तथा विद्यार्थी प्रेरणा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले शिक्षालाई समाज परिवर्तनको आधार मानेर अभियान सफल बनाउन सबै सरोकारवाला निकाय, अभिभावक तथा सञ्चारकर्मीलाई सहयोग गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा मुस्लिम समुदायका विभिन्न अगुवाहरूको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles