गरुडा नगरपालिकामा नाला व्यवस्थापन अस्तव्यस्त, लाखौँको लगानी जोखिममा

रौतहट १२ चैत्र
रौतहटको गरुडा नगरपालिकामा निर्माण गरिएका पानी निकासका नालाहरू प्रभावकारी उपयोग हुन नसक्दा राज्यको लाखौँ रुपैयाँ लगानी दुरुपयोग भएको देखिएको छ । वर्षायाममा हुने डुबान समस्या समाधान गर्ने उद्देश्यले विभिन्न वडामा निर्माण गरिएका नालाहरू अहिले भने फोहोर थुपार्ने स्थानमा परिणत भएका छन् । नगरपालिकाले सडक दुवैतर्फ पक्की नाला निर्माण गरे पनि ती नालाहरू नियमित सरसफाइ र व्यवस्थापन अभावका कारण पुरिँदै गएका छन् । घरधन्दा तथा बजारबाट निस्किने विभिन्न प्रकारका फोहोरहरू नालामा जम्मा हुँदा पानी निकास अवरुद्ध भई पानी नै जम्ने अवस्था सिर्जना भएको छ । स्थानीयवासीका अनुसार गर्मी मौसममा यिनै नालाहरू लामखुट्टे उत्पादनको प्रमुख केन्द्र बन्न थालेका छन्, जसले जनस्वास्थ्यमा समेत जोखिम बढाएको छ । नाला निर्माणमा गरिएको ठूलो लगानी प्रभावकारी रूपमा प्रयोग हुन नसक्नुमा स्थानीय सरकारको कमजोर अनुगमन र स्थानीयवासीको लापरवाही दुवै कारक रहेको देखिन्छ । विकास निर्माण मात्र पर्याप्त नभई त्यसको संरक्षण र व्यवस्थापनमा समेत उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ । समयमै नालाको सफाइ र सचेतना अभियान सञ्चालन नगरिएमा भविष्यमा डुबान तथा स्वास्थ्य समस्या झन् जटिल बन्न सक्ने खतरा बढेको सरोकारवाला निकायहरुको भनाई रहेको छ ।

ताजा समाचार

Related Articles