रौतहट ११ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारमा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका भवनहरू वर्षौं बितिसक्दा पनि प्रयोगविहीन र अधुरा अवस्थामा रहँदा स्थानीयस्तरको विकास प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ । गैडाटारको एक नम्बर धारास्थित तत्कालीन पोखरी क्षेत्रमा निर्माण सुरु गरिएको २ तले भवन, सोही परिसरमा रहेको आदर्श सामुदायिक उपभोक्ता समूहको सामुदायिक भवन तथा तेन्पा दार्गेलिङ बौद्ध गुम्बाको भवन हालसम्म पनि अलपत्र अवस्थामा रहेका छन् । निर्माण सम्पन्न भइसकेको आदर्श सामुदायिक भवन प्रारम्भिक चरणमा केही समय प्रयोगमा आए पनि दीर्घकालीन योजना र स्पष्ट उद्देश्य अभावका कारण हाल पूर्ण रूपमा प्रयोगविहीन बनेको स्थानीयले बताएका छन् ।

त्यसैगरी, अन्य दुई भवनहरू भने सुरुदेखि नै स्पष्ट योजना बिना अघि बढाइएकाले निर्माण कार्य अधुरै रोकिएको देखिन्छ । स्थानीय तहबाट हचुवाका आधारमा गरिएको बजेट विनियोजनका कारण करोडौं रुपैयाँ खर्च भए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । स्थानीय बासिन्दाका अनुसार यस्ता योजना विहीन संरचनाहरूले लक्षित समुदायलाई सेवा दिनुको सट्टा झन् समस्या थप्ने काम गरेको छ । “भवन त बने, तर कामका लागि होइन, हेर्नका लागि मात्र भए,” एक स्थानीयले गुनासो गरे । यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । स्पष्ट योजना, प्रभावकारी कार्यान्वयन र नियमित अनुगमनको अभावले विकासका नाममा स्रोतको दुरुपयोग भएको भन्दै स्थानीयले जिम्मेवार निकायसँग जवाफदेहिता माग गरेका छन । यसरी विकासका संरचनाहरू नै समस्याको कारण बन्नु चिन्ताजनक विषय हो । लक्षित समुदायले सेवा पाउनु पर्ने ठाउँमा अधुरा भवनहरूले उनीहरूको आवश्यकतालाई अझै ओझेलमा पारेका छन् । स्पष्ट योजना, जिम्मेवार कार्यान्वयन र प्रभावकारी अनुगमन बिना गरिएको लगानीले अन्ततः विकास होइन, स्रोतको दुरुपयोग मात्र पुष्टि गरेको छ ।

