चन्द्रनिगाहपुरको घुम्ती शौचालय कवाडमा परिणत, सार्वजनिक सम्पत्तिको दुरुपयोगप्रति स्थानीय आक्रोश

रौतहट ११ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा यात्रुहरुको सुविधाका लागि स्थापना गरिएको घुम्ती शौचालय अहिले प्रयोगविहीन भई कवाड अवस्थामा पुगेको छ । चन्द्रनिगाहपुर चोक जस्तो व्यस्त क्षेत्रमा शौचालयको अभाव महसुस गरी तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीको पहलमा खरिद गरिएको उक्त संरचना हाल बेवारिसे झैँ थन्किएको अवस्थामा देखिन्छ । स्थानीयका अनुसार लाखौं रुपैयाँ खर्च गरेर ल्याइएको घुम्ती शौचालय केही समय सञ्चालनमा आए पनि दीर्घकालीन योजना र व्यवस्थापनको अभावका कारण अहिले पूर्ण रूपमा निष्क्रिय बनेको छ । संरक्षण र नियमित मर्मतको अभावले संरचना बिग्रँदै गएको छ भने प्रयोग नहुँदा यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । सार्वजनिक सम्पत्तिको यस्ता अवस्थाले राज्यको स्रोतसाधनको दुरुपयोग भएको भन्दै स्थानीयवासी आक्रोशित छन् । “यस्तो संवेदनशील क्षेत्रमा बनाइएको संरचना प्रयोगमै नआउनु दुःखद हो, अब नागरिक आफैंले आवाज उठाउनुपर्ने अवस्था आएको छ,” एक स्थानीयले बताए । यस विषयमा चन्द्रपुर नगरपालिकाका वर्तमान नगर प्रमुख संजय कुमार काफ्लेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
स्थानीयले सम्बन्धित निकायसँग उक्त शौचालयलाई पुनः सञ्चालनमा ल्याउन वा वैकल्पिक व्यवस्थापन गर्न माग गरेका छन् । अन्यथा, यस्ता योजना केवल देखावटीमा सीमित भई राज्यको धनराशी खेर जाने क्रम दोहोरिन सक्ने उनीहरुको चिन्ता छ ।

ताजा समाचार

Related Articles