चन्द्रपुरको होटलबाट नक्कली सुनसहित ४ जना पक्राउ, ठगीको आशंका

रौतहट १० चैत्र
चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलबाट नक्कली सुनजस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८२ चैत १० गते अपराह्न करिब ४:४५ बजे चन्द्रपुरस्थित जगत रिसोर्ट होटलमा सुनचाँदीको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो  । प्रहरी नायव उपरीक्षक रुपा लाबुङको नेतृत्वमा खटिएको टोलीले होटलको कोठा नम्बर १०२ मा जाँच गर्दा चार जना पुरुषलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा “PAMP” र “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखिएको प्याकेटमा राखिएको पहेंलो रंगको नक्कली सुनजस्तो देखिने धातु ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।  त्यसैगरी घटनास्थलबाट ६ थान मोबाइल फोन र “ANTICK MAGNIFYING BINOCULAR” लेखिएको एक उपकरणसमेत फेला परेको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नक्कली सुन प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्ने उद्देश्य राखेको देखिएको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारत दार्जिलिङ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर–१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव तथा भारत पश्चिम बंगाल सिलिगुडीका ३० वर्षीय संजोक बस्नेत रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles