रौतहट १० चैत्र । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । सर्लाही जिल्ला बागमती नगरपालिका–४ नयाँबस्ती निवासी ४० वर्षीय कामी सिंह स्याङताङ माछा मार्ने क्रममा गत चैत्र ७ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनको शव आज मंगलबार बिहान करिब ७ः३० बजे नुनथर झोलुङ्गे पुलदेखि करिब १०० मिटर उत्तरतर्फ बागमती नदीमा तैरिएको अवस्थामा फेला परेको हो । घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी रुपा लाबुङको कमाण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी कार्य सञ्चालन गरेको थियो । फेला परेको शवलाई नदीबाट निकालेर आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी पोस्टमार्टम चन्द्रनिगाहपुर सरकारी अस्पताल गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

