गुजरामा जलवायु उत्थानशील परियोजना प्रभावकारी : ७६५ किसान लाभान्वित, आधुनिक कृषि प्रविधिमा आकर्षण बढ्दो

रौतहट, ४ चैत । रौतहटको गुजरा नगरपालिकामा सञ्चालनमा रहेको “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना” प्रभावकारी बन्दै गएको छ। अक्सफाम नेपाल र सहयोग ग्रामीण विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा सञ्चालित उक्त परियोजनाले स्थानीय समुदायमा जलवायु अनुकूलन क्षमता अभिवृद्धि गर्दै कृषि उत्पादन र आम्दानीमा उल्लेखनीय सुधार ल्याएको छ।
गुजरा नगरपालिकाको सभा हलमा सम्पन्न स्थानीय परियोजना सल्लाहकार समिति (LPAC) बैठकमा परियोजनाको प्रगति, उपलब्धि तथा चुनौतीबारे विस्तृत समीक्षा गरिएको हो। आरडिसी नेपालका अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक बचुमियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रत्ना लामाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य कमला ढकाल, वडा नं. १ देखि ९ सम्मका जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, भू–संरक्षण कार्यालयका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो।
परियोजनाले जीविकोपार्जन विविधीकरण, सामुदायिक जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन योजना निर्माण, सामुदायिक नेतृत्वमा आधारित योजना तर्जुमा तथा समावेशी शासन प्रवर्द्धनमार्फत जलवायु उत्थानशीलता सुदृढ बनाउने लक्ष्य लिएको छ।
कार्यक्रम संयोजक चिरञ्जीवी महतोका अनुसार परियोजनामार्फत ६० जना किसानलाई करिब ५० हजार रुपैयाँ बराबरको कृषि सामग्री सहयोग प्रदान गरिएको छ। किसानहरूले प्लास्टिक मल्चिङ, थोपा सिँचाइ, टनेल फार्मिङ, गँड्यौला मल उत्पादनजस्ता जलवायु मैत्री प्रविधि प्रयोग गरी उत्पादन बढाएका छन्।
यस्तै, हरित उद्यम प्रवर्द्धनअन्तर्गत नर्सरी स्थापना, दुना–टपरी व्यवसाय सञ्चालन, गोदाम घर निर्माण तथा वृहत् वृक्षारोपण जस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ।
परियोजनाअन्तर्गत सघन धान खेती प्रणाली (SRI) पनि प्रभावकारी देखिएको छ। गुजरा नगरपालिका–४ पोखरियाका किसान गोकुल रानाले ५ कठ्ठा जमिनमा ‘चन्दन कटरी’ जातको धान लगाई प्रति कठ्ठा करिब १७० केजी उत्पादन गरेका छन्, जुन परम्परागत विधिभन्दा बढी हो। उक्त प्रविधि अवलोकनका लागि ४३ जना सहभागी पुगेका थिए।
त्यसैगरी, अन्तरबाली खेती प्रविधि पनि सफल देखिएको छ। गुजरा–४ कनकपुरका किसान अर्जुन रामले १० कठ्ठा जमिनमा मकै र आलुको संयुक्त खेती गरी प्रति कठ्ठा ५०० किलोसम्म आलु उत्पादन गरेका छन्। एउटै जमिनबाट दुई बाली उत्पादन गर्दा लागत घट्नुका साथै आम्दानी बढेको उनले बताए।
परियोजनाका प्राविधिकहरूका अनुसार यस्ता प्रविधिले माटोको उर्वराशक्ति संरक्षण, जलवायु जोखिम न्यूनीकरण तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने गरेका छन्।
परियोजनाबाट हालसम्म करिब ७६५ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। स्थानीय किसानमा आधुनिक तथा जलवायु अनुकूल कृषि प्रविधिप्रति आकर्षण बढ्दै गएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना रहेको परियोजनाले जनाएको छ।
कार्यक्रमअन्तर्गत सामाजिक लेखा परीक्षण समेत सम्पन्न गरिएको थियो, जसमा वर्षभरि भएको खर्च र गतिविधिबारे सरोकारवालामाझ सार्वजनिक सुनुवाइ गरिएको थियो।

ताजा समाचार

Related Articles