रुपेन्द्र पटेल
रौतहट, ४ चैत । रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालन भइरहेको जलवायु उत्थानशील परियोजनाले कृषकको आयआर्जन बढाउनुका साथै बस्तीलाई बाढी जोखिमबाट जोगाउन सहयोग पुर्याएको पाइएको छ।
अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र (आरडिसी) नेपालको साझेदारीमा सञ्चालित “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना” अन्तर्गत मंगलबार स्थानीय परियोजना सल्लाहकार समिति (LPAC) बैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको हो।
होटल पशुपतिमा आयोजित कार्यक्रममा परियोजनाले वर्षभरि गरेका गतिविधि, खर्च विवरण र उपलब्धिबारे सार्वजनिक सुनुवाइ गरिएको थियो। कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न वडाका जनप्रतिनिधि, सुरक्षा निकाय, वन तथा भूसंरक्षण कार्यालयका प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो।
परियोजनाले विशेषगरी जलवायु मैत्री खेती प्रविधि प्रवर्द्धनमा जोड दिएको छ। कार्यक्रम संयोजक चिरञ्जीवी महतोका अनुसार प्लास्टिक मल्चिङ, थोपा सिँचाइ, टनेल खेती र गँड्यौला मल उत्पादनजस्ता प्रविधि प्रयोग गर्न ३५ जना कृषकलाई करिब ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको छ।
त्यस्तै नर्सरी स्थापना, दुना–टपरी व्यवसाय, वृक्षारोपण तथा बगर खेती प्रवर्द्धनमार्फत वैकल्पिक आयआर्जनका अवसर सिर्जना गरिएको उनले बताए।
अनुगमनका क्रममा चन्द्रपुर–५ मा संघर्ष युवा क्लबले सञ्चालन गरेको नर्सरीमा तरकारी तथा फलफूलका बिरुवा उत्पादन भइरहेको भेटिएको छ। यसले स्थानीय स्तरमै बिरुवा आपूर्ति सहज बनाएको सरोकारवालाहरू बताउँछन्।
चन्द्रपुर–२ को जुडिबेला क्षेत्रमा निर्माण गरिएको नदी तटबन्धले बस्तीलाई बाढीको जोखिमबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ। वर्षायाममा खोला बस्ती पस्ने जोखिम रहेकामा तटबन्धले राहत दिएको उनीहरू बताउँछन्। स्थानीयले तटबन्ध थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सोही क्षेत्रमा सिँचाइका लागि पोखरी निर्माण भएपछि खेतीपातीमा सहजता आएको छ। पुलामी टोलकी सीतादेवी अधिकारीले परियोजनाको सहयोगमा १० धुर जमिनमा टमाटर खेती सुरु गरेकी र राम्रो उत्पादन भएपछि आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको बताइन्।
आइतबार गरिएको संयुक्त अनुगमनमा परियोजनाका प्रतिनिधि, नगरपालिका र विभिन्न निकायका सरोकारवालाले स्थलगत अवलोकन गरेका थिए।
अनुगमन टोलीले परियोजनाले जलवायु अनुकूल खेती, आयआर्जन वृद्धि र बस्ती संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको निष्कर्ष निकालेको छ।


