गैडाटारमा चोरीका घटना बढ्दो, स्थानीय त्रसित

रौतहट १ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटार क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन् । विशेषगरी रातको समयमा घर बाहिर राखिएका सामानहरू चोरी हुने घटना दिनप्रतिदिन बढ्दै गएको स्थानीयको गुनासो छ । स्थानीयवासीका अनुसार घर बाहिर राखिएको मोटर, कृषि उपकरण तथा अन्य सामानसमेत चोरी हुने गरेको छ । रतौलीका सन्तबहादुर पाख्रिनका अनुसार आफूले वर्षौँदेखि पानी तान्न प्रयोग गर्दै आएको मोटरसमेत शनिबार चोरी भएको उनले जानकारी दिएका छन् । स्थानीयहरूका अनुसार अहिले खेतबारीमा काम गर्न जाँदा समेत असुरक्षाको भावना बढेको छ । घाँसपात काट्न जाँदा दिउँसै चोरी हुने घटना समेत हुने गरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । गैडाटार क्षेत्रमा अस्थायी प्रहरी पोष्ट भए पनि प्रहरीको संख्या न्यून हुँदा प्रभावकारी रूपमा निगरानी गर्न समस्या भइरहेको स्थानीयको भनाइ छ । चोरीका घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनुपर्ने उनीहरूको माग छ । स्थानीयवासीले गैडाटार क्षेत्रमा बढ्दै गएको चोरी नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले विशेष ध्यान दिनुपर्ने बताएका छन् । सुरक्षा निकायले सक्रियता बढाए मात्रै चोरीका घटना नियन्त्रणमा आउने विश्वास स्थानीयको छ ।

ताजा समाचार

Related Articles