रौतहट ११ साउन
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारस्थित चादी खोलामा निर्माण गरिएको अस्थायी ड्राइभर्सन बाढीका कारण भत्किएको छ। ड्राइभर्सनको ठूलो भाग कटान भएपछि स्थानीयवासीमा पुनः वर्षायाममा आवतजावत अवरुद्ध हुने चिन्ता बढेको छ। स्थानीयका अनुसार वर्षा बढेसँगै खोलामा आएको बाढीले ड्राइभर्सन बगाउँदा सवारीसाधन सञ्चालन प्रभावित हुने अवस्था सिर्जना भएको हो । समयमै मर्मत तथा पुनर्निर्माण नगरिए वर्षायामभर स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी तथा दैनिक यात्रुहरूले सास्ती खेप्नुपर्ने सम्भावना रहेको उनीहरूको भनाइ छ।
स्थानीयवासीले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुका डिभिजन प्रमुख अरुण कुमार लाल कर्णलाई फाेन सम्पर्क गरी ड्राइभर्सनको मर्मत तथा दीर्घकालीन समाधानका लागि पक्की संरचना निर्माण गर्न माग गरेका छन् । उनीहरूका अनुसार हरेक वर्ष बाढीले यही समस्या दोहोरिने भएकाले स्थायी समाधान आवश्यक भएको बताएका छन्। कर्णले तत्काल नै समस्या समाधान गर्ने आश्वासन पाएकाे स्थानियले बताएका छन ।
वर्षायाम अझै बाँकी रहेकाले जोखिम थप बढ्न सक्ने भन्दै स्थानीयले चन्द्रपुर नगरपालिका, प्रदेश सरकार तथा सम्बन्धित निकायलाई तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

