सर्लाही ३० फागुन
सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित सितापुरमा स्कारपियो गाडीले जन्तीको भीडमा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको DL9CZO77 ७७७ नम्बरको स्कारपियोले विवाहमा सहभागी जन्तीको समूहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका–९ का करिब ५० वर्षीय नारायण जर्गामगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो । तर उपचारकै क्रममा साँझ करिब ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा रौतहट र सर्लाहीका गरी ११ जना घाइते भएका छन्। घाइतेमध्ये रौतहटको दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेलको टाउकोमा गम्भीर चोट लागेको छ भने गढीमाई नगरपालिका–११ की बन्धना पटेल (४५) बेहोस अवस्थामा उपचाररत छिन् । त्यसैगरी बरहथवा–१० का रुपेश मण्डल (१८), प्रतिमा कुमारी पटेल (१५), दिलिप राय (१९), चन्दन पासवान (२३), दीपिका जैसवाल (१२), रामजी राय (२०), मुकेश राउत (२३), रामनारायण ठाकुर (५५) र गुलाबकुमारी मण्डल (४५) पनि घाइते भएका छन । घाइतेहरूको बरहथवास्थित हनुमन्त नगर तथा एडभान्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले स्कारपियो गाडी र चालक बरहथवा नगरपालिका–१२ लौकठका नरेश ठाकुरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

