प्रभावित परिवारलाई राहत दिँदै प्रशासनिक भवन निर्माण तीव्र

रौतहट, ११ साउन । रौतहटको वृन्दावन नगरपालिका–२ विश्रामपुरमा निर्माणाधीन अत्याधुनिक प्रमुख प्रशासनिक भवनका लागि सार्वजनिक जग्गामा रहेका संरचना हटाइएका दुई परिवारलाई नगरपालिकाले घर व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । विकास निर्माणका आयोजना कार्यान्वयनका क्रममा प्रभावित नागरिकको हितलाई समेत प्राथमिकतामा राख्ने नीतिअनुसार नगरपालिकाले सैनुल नट र लालबाबु शर्मालाई जनही रु. १ लाख ८० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण गर्दै नगरप्रमुख विनोद प्रसाद कुर्मीले सार्वजनिक हितका लागि सञ्चालन हुने विकास आयोजनाहरू कुनै पनि नागरिकमाथि अन्याय गरेर नभई कानुनी प्रक्रिया, मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अघि बढाइने बताउनुभयो । उहाँले पूर्वाधार विकास र नागरिकको जीवनस्तर सुधार एकअर्काका परिपूरक विषय भएकाले आयोजना समयमै सम्पन्न गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख कुर्मीले विकास निर्माणका क्रममा प्रभावित हुने नागरिकलाई यथासम्भव राहत, सहयोग तथा व्यवस्थापनको पहल गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार विश्रामपुरमा निर्माणाधीन प्रमुख प्रशासनिक भवन सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले निर्माण भइरहेको हो। भवन निर्माणमा अवरोध बनेका सार्वजनिक जग्गामा निर्मित केही संरचना सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी हटाइएको जनाइएको छ ।

वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर प्रसादका अनुसार संरचना हटाउने कार्य जिल्ला अदालत गौरको आदेश, नगर कार्यपालिकाको निर्णय तथा नेपाल सरकारको प्रचलित कानुन र निर्देशनबमोजिम गरिएको हो । उहाँले संरचना हटाउनुअघि सम्बन्धित परिवारलाई पटक–पटक मौखिक तथा लिखित सूचना दिइएको, आवश्यक छलफल गरिएको तथा वैकल्पिक व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराइने विषयमा समेत जानकारी गराइएको बताउनुभयो ।
नगरपालिकाले विकास निर्माणका काम पारदर्शी, कानुनसम्मत र जनउत्तरदायी ढङ्गले सञ्चालन भइरहेको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।
हाल विश्रामपुरमा करिब रु. ६ करोड ४६ लाख ५५ हजार ५५५ रुपैयाँ ३३ पैसा लागतमा सुविधा सम्पन्न प्रमुख प्रशासनिक भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । नगरपालिकाका अनुसार आधुनिक भवनमा प्रशासनिक सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, सेवाग्राहीमैत्री कक्ष, बैठक हल तथा अन्य आवश्यक सुविधा रहनेछन् ।

ताजा समाचार

Related Articles