रौतहट ११ साउन
रौतहट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएका अवैध लत्ताकपडा, हार्डवेयर तथा किराना सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८३ साल साउन ११ गते गौर नगरपालिका–१ स्थित भन्सार रोडमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको BAT (Border Action Team) टोली र भन्सार सुरक्षा गार्ड रौतहटको संयुक्त गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सामान बरामद गरेको हो ।
प्रहरीले उक्त स्थानबाट करिब १ लाख १६ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर सामग्री नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै, सोही दिन दुर्गा भगवती गाउँपालिका–४ पचरुखी चोकमा इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको संयुक्त गस्ती टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको करिब १४ हजार रुपैयाँ बराबरका किराना सामग्री बरामद गरेको छ ।

दुवै स्थानबाट बरामद गरिएका सामानको कुल अनुमानित मूल्य १ लाख ३० हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

