जनकपुरधाम, १३ असार
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमन यादव र सुधिर मुखिया रहेका छन्। अमन मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी विजय यादवका करिब २० वर्षीय छोरा हुन् भने सुधिर हंसपुर नगरपालिका–६ सोनीगाम निवासी रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा हुन् ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा थापा होटलमा गरिएको खानतलासीका क्रममा उनीहरूको साथबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरिएको हो । बरामद हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले हतियार कहाँबाट ल्याइएको हो, किन बोकेको थियो तथा यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी राखेको जनाएको छ। साथै, यस घटनासँग सम्बन्धित थप तथ्य खुल्ने क्रम जारी रहेको प्रहरीको भनाइ छ।

