रौतहटमा पोषण सुधारका लागि स्थानीय तहको साझा प्रतिबद्धता, दुई दिने कार्यशाला सुरु

रौतहट , १३ असार
मधेश प्रदेशमा कुपोषण न्यूनीकरण तथा पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले रौतहटमा दुई दिने जिल्लास्तरीय बहुक्षेत्रीय पोषण कार्यक्रम तथा कार्ययोजना निर्माण कार्यशाला शुक्रबारदेखि सुरु भएको छ। प्रदेश नीति तथा योजना आयोग, मधेश प्रदेशको आयोजनामा सुरु भएको कार्यशालामा जिल्लाका १८ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, कृषि, खानेपानी, पशु सेवा लगायतका सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्था, संयुक्त राष्ट्रसंघीय निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रममा संरक्षण नेपाल, केयर नेपाल र सुअहारा नेपालले सहकार्य गरेका छन् ।


कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्या राय यादवले पोषण सुधारको आधार घरमै उत्पादन हुने स्वच्छ, ताजा र अर्गानिक खाद्यवस्तुको प्रयोग भएको बताउँदै स्थानीय स्रोत–साधनको सदुपयोगबाट बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार सम्भव रहेको धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना देवी साह, बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका सचिव डा. प्रमोद यादवले मधेश प्रदेशमा कुपोषणको मुख्य कारण गरिबी, अशिक्षा, जनचेतनाको कमी तथा व्यवहारगत समस्या रहेको उल्लेख गर्नुभयो।
नगर प्रमुख प्रदीप यादवले बालपोषणका लागि सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता अपेक्षित रूपमा बालबालिकाको पोषणमा खर्च हुन नसकेको भन्दै त्यसतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यशालामा प्रदेश नीति तथा योजना आयोगका संयोजक संजिव लामा घिसिङले मधेश प्रदेशको पोषण अवस्था, नीतिगत व्यवस्था तथा संस्थागत प्रयासबारे प्रस्तुतीकरण गर्नुभयो। त्यसैगरी विज्ञ सहजकर्ता जितेन्द्र नायकले नेपालमा कुपोषणको वर्तमान अवस्था, यसको प्रभाव, पोषणसम्बन्धी नीति तथा कार्यक्रम र सरोकारवालाको भूमिकाबारे तथ्याङ्कसहित जानकारी दिनुभयो।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा स्थानीय तहबीच अनुभव आदान–प्रदान, पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका रणनीति तथा आगामी कार्ययोजना निर्माणका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता प्रदेश नीति तथा योजना आयोग, मधेश प्रदेशका उपाध्यक्ष राजकुमार सिंहले गर्नुभएको थियो भने सञ्चालन चन्द्रपुर नगरपालिकाकी हेमा कुमारी ढकाल (सुप्रिया) ले गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles