अदालतको आदेशपछि निजगढमा वन अतिक्रमीत , ११ घरटहरा डोजरबाट हटाइयो

बारा १४ असार
बाराको निजगढ नगरपालिका–२ सिंगौलस्थित श्री वनदेवी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको वन क्षेत्रमा वर्षौंदेखि अतिक्रमण गरी बनाइएका ११ वटा घर तथा टहरा शनिबार हटाइएको छ । डिभिजन वन कार्यालय बाराको समन्वयमा एक्साभेटर (डोजर) प्रयोग गरी अतिक्रमित संरचना हटाइएको हो । वन कार्यालयका अनुसार अतिक्रमण हटाउने क्रममा प्रभावित घरधनीहरूले पनि स्वेच्छिक रूपमा सहयोग गरेका थिए, जसका कारण प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। डिभिजन वन कार्यालय बाराले दिएको जानकारी अनुसार २०८१ माघ २४ गते बारा जिल्ला अदालतले अतिक्रमणमा परेको २१.००२४ हेक्टर वन क्षेत्र पुनः वनकै स्वामित्वमा ल्याउन आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयन गर्दै वन कार्यालयले चरणबद्ध रूपमा अतिक्रमण हटाउने कार्य अघि बढाएको हो ।


उक्त क्षेत्रमध्ये करिब १३.००२४ हेक्टर जमिनमा गत वर्ष नै वृक्षारोपण सम्पन्न भइसकेको छ। बाँकी रहेको करिब ८ हेक्टर क्षेत्रबाट असार ८ गते केरावाली हटाइसकिएको र हाल काँडे तारबार गरी वृक्षारोपणको तयारी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।
वन क्षेत्र संरक्षण, अतिक्रमण नियन्त्रण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ अदालतको आदेश कार्यान्वयनलाई निरन्तरता दिइएको वन कार्यालयले जनाएको छ । साथै पुनः अतिक्रमण हुन नदिन आवश्यक सुरक्षा तथा अनुगमनका व्यवस्था पनि सुदृढ गरिने बताइएको छ ।

ताजा समाचार

Related Articles