चन्द्रपुर १४ रौतहट
राैतहटकाे चन्द्रपुर नगरपालिका–३ स्थित गैंडाटार आधारभूत स्वास्थ्य चौकीमा २०८३ साल असार १५ गते सोमबार फोक्सो तथा छातीसम्बन्धी रोगको समयमै पहिचान र उपचारका लागि आधुनिक डिजिटल एक्स–रे प्रविधिसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर बिहान ७:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन हुने आधारभुत स्वास्थ्य चाैकी गैडाटारका प्रमुख बिमल सापकोटाले तराई पाेष्टलाई बताउनु भयाे । शिविरमा छाती दुख्ने, लामो समयदेखि खोकी लाग्ने, खकारमा रगत देखिने, सास फेर्न गाह्रो हुने, तौल घट्दै जाने, लगातार ज्वरो आउने तथा अन्य फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण गराई मौकाको लाभ लिन आयोजकले अनुरोध गरेको छ । आधुनिक डिजिटल एक्स–रेमार्फत फोक्सो तथा छातीसम्बन्धी रोगको प्रारम्भिक पहिचान गरी आवश्यक उपचारका लागि परामर्शसमेत प्रदान गरिने जनाइएको छ । स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारले जटिल रोगबाट बच्न सहयोग पुग्ने भएकाले सबै सरोकारवालालाई शिविरमा सहभागी हुन आग्रह गरिएको छ ।
आयोजकले “समयमै परीक्षण गरौँ, छाती तथा फोक्सोका रोगबाट बचौँ” भन्ने सन्देशसहित स्वस्थ नागरिक निर्माणमा सबैको सहभागिता आवश्यक रहेको जनाएको छ ।

