विपद् आउनुअघि तयारी गर्न मन्त्री महतोको जोड

रुपेन्द्र पटेल

रौतहट, ५ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले विपद् व्यवस्थापनमा उद्धारभन्दा पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
रौतहटको बागमतीस्थित नुनथरमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले आयोजना गरेको जल उद्धारसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रममा मन्त्री महतोले विपद् आएपछि गरिने उद्धारको तुलनामा त्यसअघि गरिने तयारी बढी प्रभावकारी, व्यवस्थित र कम खर्चिलो हुने बताउनुभयो ।
नेपाल प्राकृतिक स्रोतले सम्पन्न भए पनि विपद्को दृष्टिले संवेदनशील मुलुक रहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन, नदी प्रणालीमा आएको परिवर्तन तथा बढ्दो मानवीय गतिविधिका कारण बाढी, डुबान, नदी कटान र पहिरोजस्ता विपद्का घटना बढ्दै गएको बताउनुभयो ।
विशेषगरी मधेश प्रदेशका अधिकांश जिल्ला वर्षायाममा बाढी र डुबानको उच्च जोखिममा रहने भन्दै मन्त्री महतोले प्राकृतिक विपद्का कारण हरेक वर्ष मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको अवस्था स्मरण गराउनुभयो । उहाँले विपद् व्यवस्थापनमा पूर्वतयारी, सचेतना र समन्वयलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्ता कृत्रिम अभ्यासले वास्तविक विपद्का बेला आवश्यक दक्षता, तत्परता र कार्यक्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै उहाँले सुरक्षा निकायबीच समन्वय बढाउनुका साथै नागरिकमा विपद् सचेतना फैलाउन पनि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले विपद् व्यवस्थापन सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउनुभयो । विपद्का बेला सबै तहका सरकार, सुरक्षा निकाय तथा नागरिक समाजबीच प्रभावकारी समन्वय र सामूहिक संकल्प आवश्यक पर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा जल उद्धारका विभिन्न अभ्यास, उद्धार सामग्रीको प्रयोग, प्राथमिक उपचार तथा बहुनिकाय समन्वयसम्बन्धी प्रदर्शन गरिएको थियो । कार्यक्रममा रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न पालिका र सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles