रौतहट २८ फागुन
रौतहटमा वन क्षेत्रको संरक्षण तथा व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले वन अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको छ । डिभिजन वन कार्यालय रौतहटको नेतृत्वमा रंगपुर साझेदारी वन, सव–डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको संयुक्त समन्वयमा उक्त अभियान सञ्चालन गरिएको हो । अभियान अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ स्थित बेल्टीका अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन् भने वन क्षेत्रलाई पुनः संरक्षणमा ल्याउने काम गरिएको सम्बन्धित निकायले जनाएको छ । वन क्षेत्रको दिगो व्यवस्थापन तथा वातावरणीय सन्तुलन कायम राख्न यस्तो अभियान प्रभावकारी हुने विश्वास गरिएको छ । साथै वन क्षेत्र अतिक्रमण गर्नु कानुनविपरीत कार्य भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित निकायले सबैलाई आग्रह गरेको छ । वन संरक्षणमा स्थानीय समुदायको सहयोग आवश्यक रहेको समेत बताइएको छ ।

