काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएसँगै बिदाइ गरिएको छ।

फागुन २१ मा सम्पन्न निर्वाचन गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीबलले देशभर भर्ना गरेका निर्वाचन प्रहरीको बिहीवार बिदाइ गरिएको हो।
उनीहरूलाई ४० दिनका लागि भर्ना गरिएकोमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुका साथै मतगणना समेत सम्पन्न भइसकेको छ।
चुनौतीपूर्ण काम सम्पन्न गरेको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् ।
निर्वाचन प्रहरी अर्जुन खत्रीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले अब बन्ने सरकारले निर्वाचन प्रहरीका लागि उचित रोजगारको व्यवस्था गर्नुपर्ने माग गरे।
निर्वाचन प्रहरी रविना अधिकारीले छोटो अवधिका लागि भए पनि देशको सेवा गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
जेनजी आन्दोलनमा जगमा भएको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सफल हुनु महत्त्वपूर्ण कुरा भएको उनको भनाइ छ। अब बन्ने सरकारले युवाहरूको मागबमोजिम रोजगारीको अवसर दिनुपर्नेमा उनको जोड छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर कुल एक लाख ३९ हजारभन्दा बढी निर्वाचन प्रहरी परिचालन भएका थिए।

