सभापति पदबाट राजीनामा नदिन गगन थापालाई मधेसका नेताको आग्रह

रौतहट,२८ फागुन । नेपाली कांग्रेसका नेता गगन कुमार थापा लाई सभापति पदबाट राजीनामा नदिन मधेसका नेताले आग्रह गरेका छन्। मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ता ले पार्टी नेतृत्वबारे देशव्यापी चर्चा भइरहेका बेला थापालाई थप अवसर दिँदै पार्टीलाई अझ सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका हुन्।

गुप्ताका अनुसार निर्वाचनको दुई दिन मात्रै बाँकी रहँदा पनि सम्मानजनक ढंगले टिकट वितरण गर्दै पार्टीभित्र एकताको वातावरण बनाउन थापाले महत्वपूर्ण भूमिका खेलेका थिए। “थापा एकताको लागि संघर्ष गर्ने नेता हुन्,” उनले भने।

लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले विचार, सिद्धान्त र जनताको विश्वास कहिल्यै नहार्ने धारणा व्यक्त गरे। भविष्यमा थापाको नेतृत्वमा जनताले कांग्रेसलाई बहुमत दिने र उनी देशको प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको विश्वास समेत उनले व्यक्त गरे।

साथै, सर्लाही क्षेत्र नं. ४ बाट चुनाव लड्दा मधेसी जनताको अपेक्षित साथ नपाउनु मधेसकै लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। गुप्ताले सबै मिलेर नेपाली कांग्रेस लाई अझ बलियो बनाउँदै गाउँ–टोलसम्म संगठन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले जनताको मतलाई सम्मान गर्दै उनीहरूको विश्वास जित्ने काममा पार्टीका नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने पनि बताएका छन्।

ताजा समाचार

Related Articles