चन्द्रपुरमा स्वाइन फिभरको संक्रमण, दुई सातामा १६ बंगुर मरे

रुपेन्द्र पटेल
रौतहट, २८ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका–४ र ५ मा बंगुरमा स्वाइन फिभर रोग देखिएपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। पछिल्लो दुई सातायता उक्त रोगका कारण कम्तीमा १६ वटा बंगुर मरेका छन्।
चन्द्रपुर नगरपालिका–५ राजपेडाका कृषक हिरा गुरोले पालेका १४ वटा बंगुर स्वाइन फिभरका कारण मरेपछि उनको बंगुरपालन व्यवसायमा ठूलो क्षति पुगेको छ। गुरोका अनुसार अचानक बंगुरहरू बिरामी पर्न थालेपछि उपचारको प्रयास गरिए पनि बचाउन नसकिएको हो। रोगका कारण आफ्नो बंगुर खोर नै सखाप भएको उनले बताए।
त्यस्तै चन्द्रपुर नगरपालिका–४ का एक कृषकका दुई वटा बंगुर पनि सोही रोगका कारण मरेको पशु सेवा कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। कार्यालयका अनुसार पछिल्लो समय सो क्षेत्रमा बंगुरमा देखिएको रोगका लक्षण स्वाइन फिभरसँग मिल्दोजुल्दो रहेको छ।
पशु सेवा कार्यालय चन्द्रनिगाहपुरका पशु चिकित्सक डाक्टर सुलभ चौधरीले मरेका बंगुरहरूमा स्वाइन फिभर रोगका लक्षण देखिएको जानकारी दिए। उनका अनुसार यो रोग फैलिन सक्ने भएकाले किसानहरूले विशेष सतर्कता अपनाउन आवश्यक रहेको छ।
डाक्टर चौधरीले बंगुरपालन गर्ने किसानलाई आफ्नो खोर वरपर सफाइमा ध्यान दिन, बिरामी देखिएका बंगुरलाई अन्य स्वस्थ बंगुरबाट अलग राख्न तथा रोगको शंका लागेमा तत्काल प्राविधिकसँग सम्पर्क गर्न आग्रह गरेका छन्।
उनले बंगुरमा अस्वाभाविक रूपमा बिरामी देखिएमा वा अचानक मृत्यु भएमा तुरुन्त नजिकको पशु सेवा कार्यालय वा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउन पनि अनुरोध गरेका छन्। समयमै जानकारी प्राप्त भएमा रोग नियन्त्रण तथा थप क्षति हुनबाट जोगाउन सहयोग पुग्ने उनको भनाइ छ।
पछिल्लो समय रौतहटसहित तराईका विभिन्न जिल्लामा बंगुरपालन व्यवसाय विस्तार हुँदै गएको अवस्थामा यस्ता संक्रामक रोग देखिन थालेपछि किसानहरू थप सचेत हुनुपर्ने पशु प्राविधिकहरूले बताएका छन्। रोग नियन्त्रणका लागि सरसफाइ, नियमित निगरानी र समयमै उपचार आवश्यक हुने उनीहरूको सुझाव छ।

ताजा समाचार

Related Articles