पर्सा २६ फागुन
पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने कारमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन । बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति करिब ९ः१५ बजेतिर गण्डक नहर छेउमा रहेको पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक र अर्का एक जनालाई तत्काल उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा चालकको राति करिब १०ः१५ बजे मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मृतक चालकको नाम र ठेगाना हालसम्म खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

