काठमाडौ २६ फागुन
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी आज राति गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

