महोत्तरीमा करिब २० हजार मत बदर, चार वटै क्षेत्रमा उच्च संख्या

महोत्तरी २५ फागुन
महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत प्रत्यक्षतर्फ उल्लेख्य संख्यामा मत बदर भएको तथ्य सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदन अनुसार जिल्लाभरि कुल १९ हजार ९३५ मत बदर भएका छन् । चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा सबै क्षेत्रमा बदर मतको संख्या उल्लेखनीय देखिएको छ । विवरण अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ९५४, क्षेत्र नम्बर २ मा ५ हजार ४४९, क्षेत्र नम्बर ३ मा ५ हजार १० र क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी ५ हजार ५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारीले जानकारी दिएका छन् । जिल्लामा कुल ४ लाख ३१ हजार २८२ मतदाता कायम रहेकोमा प्रतिनिधिसभा निर्वाचन–२०८२ मा २ लाख ६१ हजार ३४६ जनाले मतदान गरेका थिए । यसअनुसार महोत्तरीमा ६०.५९ प्रतिशत मतदान भएको देखिन्छ । मतगणनाको अन्तिम विवरणअनुसार खसेको मतमध्ये २ लाख ४१ हजार ४११ मत अर्थात ९२.३७ प्रतिशत सदर भएको छ भने १९ हजार ९३५ मत अर्थात ७.६२ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा बदर मतको संख्या उच्च देखिएपछि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको स्थानीय स्तरमा चर्चा हुन थालेको छ ।

ताजा समाचार

Related Articles