रौतहटमा चुनावी परिणामपछि एमाले र आजपा नेताको राजीनामा

रौतहट २५ फागुन
रौतहट जिल्ला का संसदीय निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै दुई दलका जिम्मेवार नेताहरूले पार्टीबाट राजीनामा दिएका छन् । आम जनता पार्टी का केन्द्रीय कार्यकारी सदस्य तथा उप–महासचिव सुधीर यादव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मधेस प्रदेश कमिटी सदस्य शेख एकरामुल ले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । दुवै नेताले आइतबार बेलुकी छुट्टाछुट्टै वक्तव्य जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । यादवले करिब २५ वर्ष लामो राजनीतिक यात्रामा धेरै अनुभव बटुलेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टी अध्यक्ष प्रभु साहको एकल निर्णय प्रक्रिया, कार्यशैली तथा ऋषि धमला लाई उम्मेदवार बनाएपछि आवश्यक सहयोग र समय नदिएको विषयमा असहमति जनाएको बताएका छन् । उनका अनुसार पार्टीभित्रै केही व्यक्तिहरूलाई प्रयोग गरी उम्मेदवारलाई हराउने प्रयास भएको जस्तो गतिविधि देखिएको आरोप पनि लगाइएको छ । यी कारणले आफूले पार्टीको सम्पूर्ण जिम्मेवारी मात्र नभई साधारण सदस्यबाट समेत राजीनामा दिएको उनले बताएका छन्। यादव हाल क्षेत्र नम्बर ४ अन्तर्गत चन्द्रपुर नगरपालिका मा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यसैगरी क्षेत्र नम्बर ३ अन्तर्गत गुजरा नगरपालिका का एमालेबाट मेयरका पूर्व प्रत्याशी समेत रहेका शेख एकरामुलले पनि पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका छन् । उनले भने राजीनामाको कारण सार्वजनिक गरेका छैनन् । गत २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षाविपरीत परिणाम आएपछि एमाले र आजपाका केही नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन ।

ताजा समाचार

Related Articles