रौतहटमा दलित समुदायमाथि कुटपिटको आरोप, निष्पक्ष छानबिनको माग

रौतहट २५ फागुन
रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरमा दलित समुदायमाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि घटनाले स्थानीयस्तरमा चासो र चिन्ता बढाएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी अनुसार २०८२ फागुन १९ गते दलित समुदायका केही व्यक्तिमाथि कुटपिट गरिएको र उनीहरू गम्भीर घाइते भएको पीडित पक्षको दाबी छ । पीडितहरूमा नरेश राम, सीता राम, ललन राम, बिरजा राम र राजकुमार राम रहेका बताइएको छ । उक्त घटनामा भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव लगायत संलग्न रहेको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । पीडित पक्षले कुटपिट मात्र नभई दलित समुदायका चेलीबेटीको अस्मितामाथि समेत गम्भीर दुर्व्यवहार भएको दाबी गरेका छन्। घटनापछि उल्टै पीडित पक्षलाई नियन्त्रणमा लिएको र आरोपित व्यक्तिहरू हालसम्म पक्राउ नपरेको गुनासो पनि उठाइएको छ । यस घटनासँग सम्बन्धित विषयमा नेपाल प्रहरी अन्तर्गतको इलाका प्रहरी कार्यालय विजयपुर को भूमिकाबारे पनि प्रश्न उठाइएको छ । घटना अत्यन्त संवेदनशील भएकाले स्थानीयवासी तथा अधिकारकर्मीहरूले सम्बन्धित निकायसँग निष्पक्ष, पारदर्शी र गम्भीर छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
यदि दलित समुदायमाथि वास्तवमै अन्याय र अत्याचार भएको पुष्टि भए दोषी जो–सुकै भए पनि कडा कानुनी कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने आवाज उठिरहेको छ।
नेपाल जस्तो लोकतान्त्रिक मुलुकमा जातीय विभेद, हिंसा र अन्याय कुनै पनि हालतमा स्वीकार्य नहुने सरोकारवालाहरूको भनाइ रहेकाे छ ।

ताजा समाचार

Related Articles