रौतहट २४ फागुन
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–१ मा एक बालकको सवारी दुर्घटनामा ज्यान गएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । गएराति सोही स्थानको मङ्गलपुरमा १२ वर्षीय एक बालकलाई अज्ञात सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयवासी आइतबार बिहानदेखि चक्काजाममा उत्रिएका हुन् । दुर्घटनामा संलग्न सवारी साधनको पहिचान हुन नसकेको र चालक पक्राउ नपरेको भन्दै स्थानीयले राजमार्ग बन्द गरेर विरोध जनाएका छन् ।
चक्काजामका कारण पूर्वबाट पश्चिमतर्फ तथा पश्चिमबाट पूर्वतर्फ आवत–जावत गर्ने सयौं सवारी साधन राजमार्गमै रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन् । करिब दुई घण्टादेखि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको बताइएको छ ।
घटनापछि स्थिति सामान्य बनाउन प्रहरी र स्थानीयबीच निरन्तर छलफल भइरहेको छ। नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर का अनुसार अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रूपा लाबुङ ले दुर्घटनामा संलग्न सवारी साधनको खोजी कार्य तीव्र बनाइएको र राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिएकी छिन् ।

