रुपेन्द्र पटेल
रौतहट, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सम्पन्न भएको हो। निर्वाचन सम्पन्न भएसँगै जिल्लाका चारवटै क्षेत्रमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन तथा आवश्यक व्यवस्थापनको काम भइरहेको छ । उक्त प्रक्रिया सकिएलगत्तै मतगणना सुरु गरिने उहाँले बताउनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले चारवटा मतगणना स्थल तोकेको छ । रौतहट निर्वाचन क्षेत्र नं. १ को मतगणना गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा, क्षेत्र नं. २ को ब्रम्हज्योति माध्यमिक विद्यालय लौकाहामा, क्षेत्र नं. ३ को जनता माध्यमिक विद्यालय कटहरियामा र क्षेत्र नं. ४ को जनज्योति उच्च माध्यमिक विद्यालय चन्द्रनिगाहपुरमा गरिने व्यवस्था गरिएको छ ।
<span;>हाल जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिका तोकिएका मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको प्रशासनले जनाएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्थालाई कडा बनाइएको पनि जनाइएको छ।
<span;>रौतहट जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा फैलिएका १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र तोकिएका थिए। जिल्ला प्रशासन कार्यालयका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
<span;>जिल्लामा कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेकोमा प्रारम्भिक अनुमानअनुसार करिब ५८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

