रुपेन्द्र पटेल
रौतहट,१८ फागुन । रौतहटको राजपुर नगरपालिका–५ पानीटंकी भएर अकोलवा तर्फ जाने भित्री पक्की सडकखण्डको बीच बाटोमा शंकास्पद वस्तु राखेर त्रास फैलाउने प्रयास गरिएको पाइएको छ ।
गएराति करिब १ः३० बजे फलामको ड्रमभित्र पहेँलो प्लास्टिकको बोरामा राखिएको शंकास्पद वस्तु देखिएपछि संयुक्त सुरक्षा फौजले तत्कालै उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । आज बिहान करिब १० बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित रूपमा निष्कृय पारेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डीएसपी विष्णु प्रदीप बस्यालले जिल्ला सुरक्षा स्रोतलाई उद्धृत गर्दै डिस्पोजलपछि गरिएको जाँचमा बोराभित्र कुनै विस्फोटक पदार्थ नभई माटो मात्रै रहेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानअनुसार घटना ‘होक्स’ भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा संवेदनशीलता बढिरहेका बेला यस्ता गतिविधिले सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना गर्न सक्ने भन्दै प्रशासनले अफवाहमा नअल्झिन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
यसैबीच नरायणदल गणले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली तैनाथ गरेको जनाएको छ । साथै राजमार्ग सुरक्षाका लागि छुट्टै टोली तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । शंकास्पद वस्तुको सूचना प्राप्त भएको १० देखि ३० मिनेटभित्र घटनास्थल पुग्ने क्षमता नेपाली सेनासँग रहेको पनि प्रशासनले स्पष्ट पारेको छ ।
जिल्लाको कुनै पनि स्थानमा शंकास्पद वस्तु देखिएमा तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायलाई खबर गर्न प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ ।

