राैतहट १६ फागुन
रौतहट क्षेत्र नं.–४ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामजी साह प्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरिएको छ । गढीमाई नगरपालिका–५ स्थित बालुवा मदनपुरमा आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौंको संख्यामा स्थानीय नागरिक एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा उम्मेदवार साह स्वयं उपस्थित भई नवप्रवेशीहरूलाई टीका, माला तथा दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो । सो अवसरमा बोल्दै साहले पार्टी प्रवेश गर्ने सबैलाई संगठन सुदृढीकरण, क्षेत्रीय विकास र समृद्ध समाज निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले क्षेत्र नं.–४ को समग्र विकासका लागि स्पष्ट योजना र जनमुखी कार्यक्रम अघि सारेको दाबी गर्नुभयो । निर्वाचन मिति नजिकिँदै जाँदा साहले घरदैलो अभियान, मतदाता भेटघाट तथा होली पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमलाई तीव्रता दिनुभएको छ। मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आफू जनताको विश्वास जित्ने अभियानमा केन्द्रित रहेको उहाँको भनाइ छ । रौतहट क्षेत्र नं.–४ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा रोचक बन्दै जाँदा राजनीतिक माहोल थप तातिँदै गएको स्थानीयको आकलन छ ।


